दफा २९
बजार अनुगमन टोली गठन गर्न सक्ने
(१) दफा १६ बमोजिमको अनुचित व्यापारिक क्रियाकलाप भए वा नभएको, दफा २० बमोजिमको मूल्य सूची राखे वा नराखेको, वस्तु वा सेवाको गुणस्तर, परिमाण वा मूल्यको सम्बन्धमा नियमित बजारको अनुगमन तथा निरीक्षण गर्न सम्बन्धित क्षेत्रको विज्ञ र निरीक्षण अधिकृत समेत रहेको तोकिए बमोजिम बजार अनुगमन टोली वा विषयगत अनुगमन टोली वा संयुक्त अनुगमन टोली गठन गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिमको बजार अनुगमन टोलीले कुनै वस्तु वा सेवाको गुणस्तर, परिमाण, मूल्य निर्धारण प्रक्रियाको सम्बन्धमा जानकारी लिन वा सोधपुछ गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिमको बजार अनुगमन टोलीले उपदफा (२) बमोजिम जानकारी लिँदा वा सोधपुछको सिलसिलामा सम्बन्धित उत्पादक वा बिक्रेतासँग आवश्यक कागजात तथा प्रमाण माग गर्न सक्नेछ र त्यस्तो कागजात वा प्रमाण पेश गर्नु सम्बन्धित उत्पादक वा बिक्रेताको दायित्व हुनेछ।
(४) उपदफा (१) बमोजिमको बजार अनुगमन टोलीले यस ऐन बमोजिम निरीक्षण अधिकृतलाई भएको सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछ ।
(५) उपदफा (१) बमोजिमको अनुगमन टोलीले बजार अनुगमन तथा निरीक्षण गर्दा तोकिए बमोजिमको बजार अनुगमन तथा निरीक्षण फारमको प्रयोग गर्नेछ।